Saturday, April 3, 2010

उठौँ अब सबै हामी

ऊ म तिमी ए उठौँ अब सबै हामी
भइकन यी राष्ट्रघातीहरुको मलामी

देश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी

बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी

एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी

Monday, March 29, 2010

ब्यूँझ-ब्यूँझ

भालेहरु बासिसक्यो
बिहानीलाई डाकिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

कति खेल्छौ अँध्यारोको खेल
कति बस्छौ अन्यायी त्यो जेल
उज्यालोले ढाकिसक्यो
मिर्मिरे त्यो फाटिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

कति सहन्छौ कुसमाजको बात
कति सुन्छौ निर्धनको घात
युगले कोल्टे फेरिसक्यो
नौलो किरण देखिसक्यो
ब्यूँझ-ब्यूँझ नेपाली हो
ब्यूँझ-ब्यूँझ गोर्खाली हो

Thursday, February 18, 2010

लाल सलाम !

साँझपख फुल्नेलाई
बिहानी भै खुल्नेलाई
लाल सलाम !

काँडा अझै जिउँदै छ
फूलले आँसु पिउँदै छ
लड्दालड्दै झर्नेलाई
हितको लागि मर्नेलाई
लाल सलाम !

घाम अझै ला'छैन
अन्धकार गा'छैन
जूनको ज्योति चोर्नेलाई
अन्याय त्यो फोर्नेलाई
लाल सलाम !

Monday, January 11, 2010

निर्दोष जननी

जन्माउँछिन् अनि हुर्काउँछिन् पनि
आँसु पिइरहेकी निर्दोष जननी

अग्लिरहेछ त्यो अथाह स्नेह
खोजीखोजीकन सुन्दर बिहानी

सन्तान सारा यो देशै कृतिकार
बुनिरहेछन् ताँतका ताँत कहानी

यो बगैंचा चाहिन्छ फूल फुल्न
फुलाइरहोस् त्यो विशुद्ध बिहानी