Tuesday, November 24, 2009

ती शिरिषका फूलहरु

कुदृष्टिका उदगारहरुले
लुट्यो भन्थे
कोपिलामै उन्मातहरु
भाच्चिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।

बेमौसमी तुषाराहरु
कालरात्री र हुस्सुहरु
परास्तका ज्यादती बोकेर
भर्भराइरहेका अंकुरणहरु
मुकाबिलाको मैदानभित्रै
रहरहरु अतिक्रमणमा पर्यो भन्थे
कक्रिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।

प्रपंचको बर्बरताभित्र
अत्याचारको विमती
आक्रोशका ज्वालामुखीहरु
पल-पल सल्किरहेछन्
वरिपरिका फूलहरु
लत्रिएछन् इच्छा आकाङ्क्षाहरु
फक्रिदै फक्रिएनन्
ती शिरिषका फूलहरु ।