Monday, December 21, 2009

मन लाग्यो

बाँसुरीको मन्द-मन्द धुन मन लाग्यो
अँध्यारोलाई भगाउने जून मन लाग्यो

बोलू-चलूँ आज्ञा छैन जुठेल्नोमै बन्दी नारी
बन्द कोठा मन्द आवाज रुन मन लाग्यो

चल्ला जति कता पसे सिकारीको चहलपहल
आधा-आकाश उडीउडी छुन मन लाग्यो

युगौं-युग चौका हेरी सही बस्ने मौका हैन
हितको लागि बग्ने शुद्ध खुन मन लाग्यो

Tuesday, December 8, 2009

एउटै सृष्टिका फूल

के वर्ग के लिङ्ग एउटै सृष्टिका फूल
थरीथरी जात यी सिङ्गो राष्ट्रका तुल

रोइरह्यो देश मान्छे मान्छेको कलह
जल्दोबल्दो छ परिवेश समाज र कुल

काट्दा के पायौ र उस्तै देख्छु रगत
कुन्नि कसले बगायो त्यो अछुतको मूल

पलाए कति धन र निर्धनको तरुल
यो हो मनुष्य नहुनुको अति प्रिय भुल