Sunday, May 31, 2009

त्यही पल अस्ताउने छु म

यौवन पूर्वार्द्ध
विज्ञता कोरलीहरु
वलात्कृत हुन छाड्छन्
प्रत्येक साँझ
निसंकोच फकि्रन्छन्
हर चिस्यानहरुमा
अग्र साम्य सोचहरु
निर्धक्क मुस्कुराउँछन्
त्यही पल अस्ताउने छु म ।

स्व-आकांक्षा अतिक्रमण
असह्य हुँदा
गुँडभित्रै बिस्फोटित
घोर ज्वालामुखी
खप्न नसक्दा
एकाएक पोथीहरु
ओथारा बाहिर निस्की
निर्लज्ज बास्न थाल्छन्
भाले सरह
त्यही पल अस्ताउने छु म ।

Tuesday, May 19, 2009

प्यारो स्वाभिमान

नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु
मैले टेक्या माटोसँगै म त नाता गाँस्छु
गले गलोस् ढले ढलोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान

भाषा संस्कार बोक्छु म त चारै किल्ला छेक्छु
रङ्गीचङ्गी फूल फुल्या यही देशमा देख्छु
फुले फुलोस् झरे झरोस् यही मेरो ज्यान
कंचन छ निर्मल छ प्यारो स्वाभिमान