Tuesday, July 21, 2009

उनी मेरी आमा हुन्

उनी मेरी आमा हुन्
जिन्दगीको हरेक रङ्गले
सौहार्दमय संसार लेख्छिन्
मात्र कलमले लेख्दिनन् ।

वासयुक्त हाँसो छर्छिन्
मृदृभाषा बोल्छिन्
नागरिकता धितो राख्छिन्
ऋण बोक्छिन्
अनि परिवर्तन पक्षषोषक
भोक तिर्खा मेट्छिन्
उनी मेरी आमा हुन् ।
रातभरि समविन्दु
घरि उखेल्छिन् घरि रोप्छिन्
पुजारी र टेलरमास्टर बीचको
भूगोल खुम्च्याउँछिन्
मिर्मिरेसँगै उठ्छिन्
अँध्याराहरु पोत्छिन्
दलान टेकी मसुक्क मुस्कुराउने
बिल्कुलै नौलो उषा लेख्छिन्
उनी मेरी आमा हुन् ।

दुश्मनहरुसँग पौठेजोरी खोल्ने
मभित्रका ज्वालाहरु
उनैले लेखेकी हुन्
पीडितहरुका दर्द नाप्ने यन्त्र
मभित्र उनैले लेखेकी हुन्
मात्र विन्दुले संसार जोड्ने
मात्र विन्दुले तोड्ने
यी कि्रयाशील औंलाहरु
उनैले लेखेकी हुन्
उनी मेरी आमा हुन् ।

उनी मेरी आमा हुन्
जिन्दगीको हरेक रङ्गले
सौहार्दमय संसार लेख्छिन्
मात्र कलमले लेख्दिनन् ।